म्याग्दीमा ४० प्रतिशत उम्मेदवारले मात्र चुनाव खर्चको विवरण बुझाए
म्याग्दी | साउन १३, २०७९
म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात सय १८ जनामध्ये दुई सय ८६ ले मात्र खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले अझै ६० प्रतिशत उम्मेदवारले चुनावको खर्च विवरण बुझाउन बाँकी रहेको बताउनुभयो । “निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ”, उहाँले भन्नुभयो, “सार्वजनिक सूचना, स्थानीय तह, मौखिकरुपमा र सम्बद्ध राजनीतिक दलहरुमार्फत विवरण बुझाउन ताकेता गरेका छौँ ।”
निर्वाचित भएका अधिकांशले विवरण बुझाए पनि पराजित उम्मेदवारले खर्च विवरण बुझाउन रुचि देखाएका छैनन् । अन्नपूर्ण गाउँपालिकाका ६७, धौलागिरि गाउँपालिकाका ४६, बेनी नगरपालिकाका ७६, मङ्गला गाउँपालिकाका २४, मालिका गाउँपालिकाका ४६ र रघुगङ्गा गाउँपालिकाका २४ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका र कम रघुगङ्गा गाउँपालिकाका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । जिल्ला समन्वय समितिका नौ जना र कार्यपालिका सदस्य निर्वाचनका ६ उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् । अन्नपूर्णमा ९८, धौलागिरिमा ८४, बेनीमा एक सय ५६, मङ्गलामा ९८, मालिकामा एक सय ४७ र रघुगङ्गामा एक सय ३५ उम्मेदवार थिए । निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको थियो । बुझाएका विवरण आयोगको सफ्टवेयरमा भरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, वडाध्यक्षले रु दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले रु तीन लाख ५० हजार र अन्यले रु एक लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले व्यवस्था गरेको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताबमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।
यसैबीच एक महिनाको अवधिमा म्याग्दीमा एक हजार दुई सय ९७ जनाले मतदाता नामावली दर्ता गरेका छन् । जिल्ला निर्वाचन र प्रशासन कार्यालयमा सात सय १४ पुरुष र पाँच ८३ महिलाले मतदाता नामावली दर्ता गराएका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सन्देश थापाले जानकारी दिनुभयो ।
अन्य जिल्लाका ३८ र एक हजार दुई सय ५९ म्याग्दीकाले तस्बिर सहितको नामावली दर्ता गराएका हुन् । आयोगले गत असार १ गतेदेखि मतदाता नामावली दर्ता खुला गरेको थियो । छ वटा पालिका र ४५ वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा ४१ हजार चार सय १४ पुरुष, ४३ हजार नौ सय ६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार तीन सय ७५ मतदाता थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

